Filed under: travel/culture
शरद चिराग, (लाङटाङ)।
हेलो नमस्ते।
नमस्ते।
आर यु गोइङ टु लाङटाङ -
या आ म गोइङ टु केन्जिङ गोम्पा।
ह्याभ अ नाइस ट्रेक।
थ्यांक यु।
क्यान यु ह्याभ अ पेन फर मि -
सरी आइ डन्ट ह्याभ। टेक द चोकलेट।
थ्यांक यु। सी यु लेटर।
लाङटाङ पदयात्रामा हिँडेकी अस्ट्रेलियाली पर्यटक तेसासँग कुरा गरिरहँदा छिरिङ डोल्मा बेलाबेला आफ्ना साथीहरूलाई तामाङ भाषामा अनुवाद गराएर यी कुरा बुझाउँछिन्।
यी सातवर्षो सानी केटी (जसका गालाभरि सिँगान लत्पतिएको छ) स्याफ्रुबेंसीको सरकारी स्कुलमा १ कक्षामा पढ्छिन्। नेपालकै अशिक्षित र गरिबीले व्याप्त दुर्गम मानिने तामाङ बस्ती रसुवाकी यी सानी केटीले पदयात्रामा आउने पर्यटकहरूबाट उनीहरूलाई कस्ता व्यवहार गर्ने भन्ने पश्चिमेली संस्कार गजबले सिकेकी छन्।
थोरै तर शुद्ध अंग्रेजी बोलेकी छिरिङबाट प्रभावित क्विन्स्ल्यान्ड युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी विद्यार्थी तेसाले उनको सिकाइलाई बहुल संस्कृतिको असर भनी व्याख्या गरिन्। उनले मागेकी हुन् तर पनि उनको शैली यति परिपक्व छ कि हत्तपत्त मागेको जस्तो लाग्दैन भन्छिन् तेसा।
लाङटाङ पदयात्रामार्गमा पर्ने बाम्बुको टिबेट होटलका मालिक कर्पु शेर्पा आफूले पर्यटकहरूलाई फ्रेन्च कन्ट्रिसाइडको स्वाद पस्किने हिसाबले होटल र परिकारको बन्दोबस्त गरेको बताउँछन्। आफ्नी नवविवाहिता श्रीमतीका साथ यो चल्तीको सिजन थेगिरहेका उनले कहाँबाट सिके त यो काइदा – ट्रेकिङमा आउने गेस्टहरूबाट’ -उनी जबाफ फर्काउँछन्।
खुम्जुङ होटल ट्रेनिङ सेन्टरबाट बेकिङको तालिम लिएका उनले युरोप र अमेरिकी पाहुनालाई खुसी पार्ने हिसाबले परिकार र होटलको डिजाइन उनीहरू सुहाउँदो गरेका होइनन्,
काम गर्ने परिपाटीमै परिवर्तन गरेका छन्। उनी भन्छन्- आफू पनि उनीहरू सुहाउँदो शैलीमा काम नगरे पछि परिन्छ।’
रसुवा उच्च माविमा ११ कक्षामा अध्ययनरत सञ्जु लामा पर्यटकीय याम शुरू भएपछि पढाइ छाडेर स्याफ्रुस्थित घर फर्किन्छिन् र आफ्ना बा-आमालाई होटलको काममा सघाउँछिन्।
एक हूल पाहुना लन्च सकेर लाङटाङ उक्लिएपछि फुर्सदिली बनेकी उनी आइपोडमा फिफ्टी सेन्टका गीत सुनिरहेकी भेटिइन्, जुन उनले एउटा इटालियन केटाबाट उपहारमा प्राप्त गरेकी थिइन्।
नेपालकै दुर्गम, अशिक्षित र अविकसित मानिने रसुवा जिल्लामा पर्यटकीय चहलपहल वृद्धिसँगै पश्चिमा प्रभाव व्यापक बढेर गएको छ। स्याफ्रुबेंसी गाविसका पूर्वअध्यक्ष कर्र्णोल लामा यसलाई समयको प्रभाव भन्ठान्छन्।
लामो समयको अन्तरालमा यो वर्ष उल्लेख्य पर्यटक भित्रिएपछि हौसिएका लाङटाङआसपासका व्यवसायीहरूले अर्थोपार्जन मात्र गरेका छैनन्, उनीहरूले बहुल संस्कृतिलाई आत्मसात् पनि गर्न सिकेका छन्।
यो ठाउँ दुर्गम त छ, तर यहाँको नयाँ पुस्ता धेरै कुरामा अगाडि छ, केही कुरामा पश्चिमेली प्रभाव देखिन्छ’, इटालियन जुलिया तोसातो भन्छिन्- ँयति भएर पनि उनीहरूले आफ्नो संस्कृति भुलेका छैनन्। उनीहरूले बहुल संस्कारलाई आत्मसात् गर्न सकेका छन्। यो ठूलो कुरा हो।’